जनकपुरधाम । धनुषा प्रहरीले सुनचाँदी राखेर नगद सापटी दिने भन्दै ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विभिन्न मितिमा स्थानीय व्यक्तिहरूलाई सुनचाँदी राखी नगद सापटी दिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा १७० जना पीडितले दिएको जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ६ का अन्दाजी ४० वर्षीय प्रदीप साह सोनार रहेका छन् । घटनामा संलग्न रहेको आरोपमा उनकी ३५ वर्षीया पत्नी रमतोला देवी साहलाई यसअघि नै भदौ २ गते पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार रमतोला देवीलाई हिरासतमा राखी धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ । प्रदीप साहलाई पनि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
घटनाका मुख्य आरोपित रमतोला देवी साहका पति प्रदीप साह घटना पछि फरार रहेका थिए । उनको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित अदालत रोडबाट पक्राउ गरेको हो ।
यसैबीच, विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई समेत धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनालाई जालसाजी मुद्दामा १२ हजार ५ सय रुपैयाँ जरिवाना, अर्का एक जनालाई कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद, एक जनालाई कुटपिट मुद्दामा १२६ रुपैयाँ ५० पैसा जरिवाना र अर्का एक जनालाई कुटपिट मुद्दामा सजाय तोकिएको थियो ।
त्यस्तै, आगलागी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरूलाई मंगलबार पक्राउ गरी अदालतमा बुझाइएको हो ।




