जनकपुरधाम । रसुवाको भोटेकोशीलगायत विभिन्न जिल्लाका नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशबाट सम्पर्कविहीन भएका दुई जनाको शव पहिचान भएको छ ।
बाढीमा परी सम्पर्कविहीन भएकाहरूको शव सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत पहिचान गर्ने काम भइरहेको छ । पीडित परिवारले अनुहार, कपडा, शरीरमा रहेका ट्याटु तथा अन्य विशेष संकेतका आधारमा शवको सनाखत गर्ने गरेका छन् ।
यसैक्रममा सप्तरी र महोत्तरी जिल्लाका एक एक जनाको शव पहिचान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार महोत्तरीको गौशाला नगरपालिका १ निवासी कुशल खपाङ्गी मगरको शव पहिचान भएको हो ।
गोलेका अनुसार महोत्तरीबाट बाढीपछि १७ जना सम्पर्कविहीन भएकामा सात जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अझै १० जना सम्पर्कविहीन रहेको उनले बताए । पीडित परिवारले शवको सनाखत गरिसकेको र शव बुझ्न सम्बन्धित स्थानमा जाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सप्तरी प्रहरीले खड्क नगरपालिका ५ का सन्तोष चौधरीको शव पनि पहिचान भएको जनाएको छ । सम्बन्धित परिवारले गरेको सनाखतका आधारमा शवको पहिचान गरिएको हो ।
चौधरीको शव बुझ्न परिवार भरतपुर अस्पताल, चितवन जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरीका खपाङ्गी मगरको शव रसुवामा फेला परेको थियो भने सप्तरीका चौधरीको शव पूर्वी नवलपरासीमा भेटिएको थियो ।
मधेशबाट १६२ जना अझै सम्पर्कविहीन
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि मधेश प्रदेशबाट १९५ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३३ जना सम्पर्कमा आइसकेका छन् भने दुई जनाको शव फेला परेको छ ।
अझै १६२ जना सम्पर्कविहीन रहेको प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ओमप्रकाश खनालका अनुसार सबैभन्दा बढी सप्तरीबाट ४९ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये एक जना मात्रै सम्पर्कमा आएका छन् ।
त्यस्तै, पर्साबाट ४० जना सम्पर्कविहीन भएकामा दुई जना, बाराबाट २५ जनामध्ये दुई जना, रौतहटबाट १९ जनामध्ये छ जना, सर्लाहीबाट २१ जनामध्ये तीन जना, महोत्तरीबाट १७ जनामध्ये सात जना, धनुषाबाट १४ जनामध्ये सात जना र सिरहाबाट १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।
प्रदेश प्रहरीले मंगलबार दिउँसो ५ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार सम्पर्कविहीनमध्ये प्रहरी कर्मचारीतर्फ १० जना थिए । तीमध्ये सात जना सम्पर्कमा आएका छन् । त्यस्तै, नेपाली सेनामा कार्यरत तीन जनामध्ये एक जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
९५ शव परिवारलाई हस्तान्तरण
नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार हालसम्म विभिन्न स्थानमा फेला परेका ९५ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार ९५ वटा शव विभिन्न जिल्लाका परिवारलाई बुझाइएको जानकारी प्राप्त भएको छ ।
यद्यपि, शव हस्तान्तरणसम्बन्धी एकीकृत विवरण केन्द्रीय कार्यालयमा नभई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा रहेको उनले बताए । डीआईजी काफ्लेका अनुसार बाढी तथा पहिरोपछि हालसम्म १ हजार ११८ जनाको शव फेला परेको छ । भोटेकोशी बाढीबाट मुख्य प्रभावित रसुवा जिल्लामा मात्रै ११९ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।




