सर्लाही । बलरा नगरपालिका ४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनालाई लिएर सर्लाहीका शिक्षक संघ संगठनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
शिक्षक संगठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
गत सोमबार दिउँसो प्रधानाध्यापक झालाई विद्यार्थीसहित केही व्यक्तिले विद्यालय परिसरमै नियन्त्रणमा लिएर कपडा च्यातिदिने, लछारपछार गर्ने र कुटपिट गर्ने गरेको जनाइएको छ । सो क्रममा उनको निजी कारमा समेत तोडफोड गरिएको थियो ।
प्रधानाध्यापक झाले एक छात्रामाथि अश्लील शब्द प्रयोग गरेको आरोपपछि घटना भएको बताइएको छ । तर झाले भने आफूले कुनै पनि छात्रामाथि त्यस्तो शब्द प्रयोग नगरेको दाबी गर्दै आरोप प्रमाणित गर्न आवश्यक परीक्षणका लागि आफू तयार रहेको बताएका छन् ।
घटनाप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासङ्घ सर्लाहीसहित विभिन्न शिक्षक तथा विद्यालय कर्मचारीसम्बद्ध संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा प्रधानाध्यापकमाथि गरिएको व्यवहारलाई अमानवीय भन्दै घटनाको छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।
शिक्षक संगठनहरूले भदौ २२ गतेभित्र दोषीमाथि कडा कारबाही नभए जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी समेत दिएका छन् । त्यसबाट उत्पन्न हुने शैक्षिक क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने उनीहरूको भनाइ छ ।
घटनाका सम्बन्धमा शिक्षक प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसँग भेट गरी ध्यानाकर्षण गराएका छन् । उता, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका २ का २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
घटनालाई लिएर शिक्षक संगठनहरूले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सुरक्षाको विषय समेत उठाएका छन् । उनीहरूले कुनै आरोप वा विवादको अवस्था आए कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने भन्दै विद्यालय परिसरमै शिक्षकलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।




