जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यस विषयमा भारतीय रेलवे र नेपाल रेलवे कम्पनीका अधिकारीहरूबीच छलफल भएको छ ।
जयनगरस्थित रेलवे कार्यालयमा नेपाल र भारतका उच्च अधिकारीबीच भएको पहिलो चरणको बैठकमा जनकपुरधाम-अयोध्याबीच विशेष ‘रामायण सर्किट’ रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ ।
बैठकमा प्रस्तावित रेल सेवा सञ्चालन गर्नुअघि रेलमार्गको लिक, प्लेटफर्म व्यवस्थापन, सिग्नल प्रणाली, अध्यागमन, भन्सार जाँच चौकी, यात्रु सुविधा तथा सुरक्षा व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल भएको नेपाल रेलवे कम्पनीका प्रबन्धक परिवेश पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार जनकपुरधाम-अयोध्या रेल सञ्चालनका विषयमा भारतीय अधिकारीसँग प्रारम्भिक चरणको छलफल भएको हो । छलफलसँगै विभिन्न रेलवे हाल्ट तथा स्टेशनको स्थलगत अनुगमन समेत गरिएको उनले बताए ।
उनले भने, “यो प्रारम्भिक चरणको बैठक हो । अब विभिन्न चरणमा थप छलफल हुनेछ । दुई देशबीचको विषय भएकाले सरकार-सरकारबीचको सहमति पनि महत्वपूर्ण हुन्छ ।” प्रस्तावित रेल सेवामा हालका लागि एसी र स्लीपर क्लासका डिब्बा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।
रेलमार्गको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा पनि छलफल भएको रेलवे स्रोतले जनाएको छ ।
बैठकपछि नेपाल र भारतका अधिकारीहरूले विशेष निरीक्षण गाडीमार्फत जयनगर-जनकपुरधाम-कुर्था रेलमार्गका स्टेशन तथा हाल्टको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सीमावर्ती क्षेत्रमा रेलमार्गको वर्तमान अवस्था, सिग्नलिङ प्रणाली, अध्यागमन तथा भन्सार व्यवस्थालगायत संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो ।
अयोध्याबाट जनकपुरधाम आउने यात्रुको सुरक्षा, अध्यागमन प्रक्रिया तथा यात्रु आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि अधिकारीहरूबीच छलफल भएको छ ।
विशेष रेल सेवा सञ्चालनमा आएपछि भारतको अयोध्या र नेपालको जनकपुरधामबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने भारतीय अधिकारीहरूको विश्वास छ । बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झा, नेपाल रेलवे कम्पनीका पदाधिकारी तथा सुरक्षा अधिकारीहरू सहभागी थिए ।
भारतीय पक्षबाट समस्तीपुर रेलवे डिभिजनका डीसीएम अमृतेश कुमार, डीएमओ विजय प्रकाश, कस्टम आयुक्त अरुण प्रसाद, एसएसबीका डीआईजी मधुकर अमिताभ, मधुबनी जिल्लाका ग्रामीण एसपी शिवम धाकड, भारतीय राजदूतावासका प्रथम सचिव कुमार गौरव सिंह तथा इरकानका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गसँग जोड्ने उद्देश्यले प्रस्तावित यो सेवाले विशेष गरी रामायणसँग सम्बन्धित धार्मिक गन्तव्यबीचको यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।




