जनकपुरधाम । धनुषा प्रहरीले झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ । नगराइन नगरपालिका ५ स्थित खिरखिरिया जाने भित्री सडकको किनारमा रहेको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको हो ।
गएराति करिब २:३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार प्लास्टिकमा बेरिएका नौ वटा पोकामा गाँजा फेला परेको थियो । बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर तौल गर्दा गाँजाको खुद तौल १०७ किलो ९९८ ग्राम कायम भएको हो ।
घटनामा संलग्न व्यक्तिको पहिचान, गाँजाको स्रोत तथा गन्तव्यबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
धनुषा प्रहरीले अवैध लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।




