सप्तरी । रोजगारीका लागि रसुवा पुगेका बेचन सदा भोटेकोशी नदीमा आएको बाढीपछि १० दिनदेखि परिवारको सम्पर्कमा छैनन् । घरको मुख्य सहारा नै सम्पर्कविहीन भएपछि सप्तरीमा रहेका उनका चार सन्तानको अवस्था दयनीय बनेको छ ।
बेचनकी पत्नी हुलियादेवी सदाको केही समयअघि क्यान्सरका कारण मृत्यु भएको थियो । पत्नीको उपचारका क्रममा लागेको ऋण तिर्न उनी रोजगारीका लागि रसुवा पुगेका थिए । त्रिशूली जलविद्युत् पावर हाउसमा काम गर्न थालेको दुई महिनामै बाढीका कारण उनी बेपत्ता भएका हुन् ।
आमाको मृत्यु र बुबा बेपत्ता भएपछि नौ वर्षीया कान्छी छोरी विभा सदा दुई दिदी र एक भाइसँगै सहाराविहीन बनेकी छन् । ‘आमा बित्नुभयो, अहिले बुबाको पनि अत्तोपत्तो छैन । हामी कसको सहारामा बस्ने ?’ विभाले भनिन् ।
उनका दुई दिदीको १८ र २० वर्षको उमेरमा विवाह भइसकेको छ । १३ वर्षीय भाइ सुभाष सदा भने आफन्तको सहयोगमा बाबुको खोजीका लागि रसुवा पुगेका छन् ।
बेचनसँगै त्रिशूली थ्रिवी पावर हाउसमा काम गर्ने सप्तरीकै सुरेन्द्र सदा र शिवकुमार सदा पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन् । उनीहरूका परिवारमा समेत कमाउने सदस्य हराएपछि दैनिकी चलाउन समस्या भएको छ ।
शिवकुमार सदाका चार सन्तान छन् । उनका वृद्ध आमाबुबा र बिरामी पत्नी घरमा छन् । घरको मुख्य आम्दानीको स्रोत रहेका शिवकुमार सम्पर्कविहीन भएपछि परिवारको गुजारा चलाउनै कठिन भएको पत्नी गुडिया सदाले बताइन् । ‘घरमा सात जना छौँ । उहाँ नै घर चलाउने मुख्य सहारा हुनुहुन्थ्यो । उहाँ हराएपछि परिवारको आहारा समेत खोसिएको छ,’ गुडियाले भनिन् ।
सुरेन्द्र सदाका तीन सन्तान छन् । श्रीमान् सम्पर्कविहीन भएपछि परिवारको आर्थिक अवस्था झन् कमजोर बनेको पत्नी द्रोपतीदेवी सदाले बताइन् । कमाउने व्यक्ति नै हराएपछि घरमा चुलो बाल्नसमेत समस्या भएको उनको भनाइ छ ।
यसै बस्तीका अरूण सदा पनि त्रिशूली थ्रिवी पावर हाउसमा काम गर्थे । बाढी आउनुभन्दा करिब एक साताअघि उनी घर आएका थिए । पुन: काममा फर्किने तयारीमा रहेका अरूणले बाढी आएको खबर पाएपछि तत्काल रसुवा जाने योजना रोकेका थिए ।
एकै बस्तीका तीन युवा बाढीपछि सम्पर्कविहीन बनेपछि सप्तरीको उक्त सदा (मुसहर) बस्तीमा सन्नाटा छाएको छ । आफन्तहरू बेपत्ताको खोजी र सकुशल फर्किने आशामा छन् भने परिवारहरू दैनिक जीवन धान्ने चिन्तामा छन् ।




