जनकपुरधाम । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा रहेका परिवारको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । बाढीको केही दिन बितिसक्दा पनि आफन्तको अवस्था थाहा हुन नसकेपछि परिवारहरू निराश बन्दै गएका छन् ।
यसैबीच, मधेश प्रदेशका विभिन्न जिल्लामा रसुवा बाढीपछि आफन्त सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराउने क्रम पनि बढेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार शुक्रबार बिहान १० बजेसम्म बाढीपछि सम्पर्कविहीन भएको भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ । दुई दिनअघि यस्तो संख्या १९५ थियो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार रिपोर्ट गरिएका २२० जनामध्ये हालसम्म ३८ जना परिवारको सम्पर्कमा आएका छन् । दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेमा सप्तरी र बाराका एक एक जना छन् । यसअनुसार अहिले पनि १८० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
जिल्लागत विवरणअनुसार सप्तरीबाट सबैभन्दा धेरै ५२ जना सम्पर्कविहीन भएको जानकारी प्रहरीमा आएको छ । त्यसमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ४८ जना अझै सम्पर्कविहीन छन् ।
पर्साबाट ४६ जना सम्पर्कविहीन भएको रिपोर्ट आएकोमा तीन जना सम्पर्कमा आएका छन् । ४३ जना अझै सम्पर्कविहीन छन् । बाराबाट रिपोर्ट गरिएका ३० जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । बाराका २५ जना अझै सम्पर्कविहीन छन् ।
त्यस्तै, रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने १४ जना सम्पर्कविहीन छन् । सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आएपनि २१ जनाको अवस्था अझै अज्ञात छ ।
महोत्तरीबाट सम्पर्कविहीन भएको भन्दै जानकारी गराइएका १७ जनामध्ये सात जना सम्पर्कमा आएका छन् भने १० जना अझै सम्पर्कविहीन छन् । धनुषाका १४ जनामध्ये सात जना सम्पर्कमा आएका छन् भने सात जना सम्पर्कविहीन छन् ।
सिरहाबाट रिपोर्ट गरिएका १४ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने १२ जना अझै सम्पर्कविहीन रहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए । प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिको यो विवरण परिवार तथा आफन्तले दिएको निवेदन र फोनमार्फत प्राप्त सूचनाका आधारमा तयार पारिएको हो ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको अवस्था र प्राप्त हुने नयाँ सूचनाअनुसार सम्पर्कविहीनको संख्या फेरबदल हुन सक्ने प्रहरीले जनाएको छ ।




