सर्लाही । सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचत गरेर रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोबाट प्रभावित नागरिकका लागि राहत सहयोग गरेका छन् ।
हरिहर जनता आधारभूत विद्यालय, हरिपुर नगरपालिका १ जानकीनगरका विद्यार्थीहरूले बाल क्लब र शिक्षकहरूको समन्वयमा आफ्नो खाजाका लागि ल्याएको रकमबाट केही बचत गरी ५ हजार १०५ रुपैयाँ संकलन गरेका हुन् । विद्यार्थीहरूले दैनिक खाजा खान ल्याउने रकममध्ये केही बचत गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेका विद्यालयले जनाएको छ ।
विद्यार्थीहरूको सहयोग अभियानमा स्थानीय शिक्षाप्रेमी शान्तिप्रसाद दुलालले ५१० रुपैयाँ, पण्डित रिखीराम काफ्लेले ७१० रुपैयाँ, मधुसुदन न्यौपानेले क्यूआरमार्फत २ हजार रुपैयाँ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाले ५०० रुपैयाँ सहयोग गरेका थिए ।
विद्यार्थी तथा अन्य सहयोगदाताबाट संकलित कुल ५ हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक जय नारायण सिंहले विद्यार्थीहरूले सानै उमेरमा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने भावना देखाउनु प्रेरणादायी भएको बताए ।
आफ्नो खाजाको रकमबाट थोरै भएपनि बचत गरेर विपद् प्रभावितका लागि सहयोग गर्नु विद्यार्थीहरूको सहयोगी भावना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको उनको भनाइ छ ।
प्रधानाध्यापक सिंहले विपद्का बेला सहयोग र सहकार्यको भावना सानै उमेरदेखि विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताए । विद्यार्थीहरूको यस पहलले विद्यालयमा कार्यरत अन्य शिक्षक तथा समुदायमा समेत सहयोगी भावनाको विकास गर्न प्रेरणा मिलेको उनले बताए ।




