जनकपुरधाम । गुठी संस्थान शाखा कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकाभित्रका अतिक्रमित पोखरी तथा पोखरीका डिल खाली गराउने अभियानलाई तीव्रता दिएको छ ।
गत भदौ ६ गते जनकपुरधामका सातवटा पोखरीका डिलमा अतिक्रमण गरी निर्माण गरिएका घर तथा संरचना डोजर लगाएर हटाएको १४ दिनपछि गुठी संस्थानले शुक्रबार दोस्रो चरणमा थप १५ वटा पोखरीका डिल सात दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
गुठी संस्थानले सार्वजनिक गरेको सूचनामा जनकपुरधामका देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्वी), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड लगायतका पोखरी तथा तिनका डिलमा अतिक्रमण भएको उल्लेख छ ।
गुठी संस्थानले ती पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिएको छ । तोकिएको अवधिमा अतिक्रमण नहटाए आठौँ दिनदेखि डोजर प्रयोग गरी घर तथा अन्य संरचना हटाइने गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।
उनका अनुसार सूचनामा उल्लेख गरिएका १५ पोखरीमध्ये १२ वटाको रेखांकन भइसकेको छ भने बाँकी तीनवटाको रेखांकन आइतबारसम्म सम्पन्न गर्ने तयारी छ ।
अतिक्रमित पोखरी पहिचानका लागि वृहत्तर जनकपुर विकास क्षेत्र परिषद्का तत्कालीन प्रमुख भोजराज घिमिरेले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको पोखरेलले बताए । तर अतिक्रमण भएको क्षेत्रको वास्तविक रेखांकन भने नापी कार्यालयले गर्ने गरेको उनले स्पष्ट पारे ।
गुठी संस्थानले जारी गरेको सूचनामा राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण गरेर भोगचलन गरिरहेको उल्लेख गर्दै तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठी सम्पत्तिमाथि लामो समयदेखि अतिक्रमण हुँदै आएको भए पनि सरकारी निकायले प्रभावकारी कदम नचालेको भन्दै पटक–पटक गुनासो हुँदै आएको थियो ।
आर्थिक लेनदेनको आरोप
पहिलो चरणमा अतिक्रमण हटाउने क्रममा कच्ची घर मात्रै भत्काइएको र आर्थिक लेनदेनका आधारमा पहुँचवालाका पक्की घरहरू नहटाइएको आरोप समेत लागेको छ । घर भत्काइएका व्यक्तिहरूले एउटै पोखरीको डिलमा रहेका केही घर भत्काएर सोही लाइनमा रहेका पक्की घरलाई लालपुर्जा रहेको भन्दै नछोइएको आरोप लगाएका छन् ।
उनीहरूको भनाइ छ, “एउटै डिलको एउटै लाइनमा रहेका २५ घरमध्ये २० वटा घर तोडियो र पाँचवटा घर लालपुर्जा छ भनेर छोडियो । जब मेरो घर डिलमा छ भने उनीहरू बसेको डिलको लालपुर्जा कसरी बन्यो ? त्यसको छानबिन हुनुपर्छ ।” तर, समितिका सदस्य सचिव पोखरेलले आर्थिक लेनदेन वा कसैप्रति काखापाखा गरिएको आरोप अस्वीकार गरेका छन् ।
उनले भने, “हामीले कहीँ पनि वा कसैसँग काखापाखा वा आर्थिक लेनदेन गरेका होइनौँ । सम्बन्धित नापी कार्यालयले रेखांकन गरेर दिएको नाप नक्साअनुसार संरचना भत्काएका हौँ । नापी कार्यालयले कुन आधारमा रेखांकन गरेको हो र अन्य व्यक्तिको लालपुर्जा कसरी बन्यो भन्ने कुरा सम्बन्धित पदाधिकारीलाई नै थाहा होला ।”
केही पक्की घर पूर्ण रूपमा नतोडिएको विषयमा उनले रेखांकन गरिएको क्षेत्रसम्म अधिकांश संरचना हटाइएको दाबी गरे । बाँकी भाग सम्बन्धित व्यक्तिले आफैँ हटाउने प्रतिबद्धता जनाएकाले केही संरचना तत्काल नहटाइएको उनको भनाइ छ ।




