रौतहट । रौतहटको कटहरिया बजारमा खसी चोरीको घटनामा चोरी गर्ने मात्र नभई चोरीको सामान खरिद गर्ने पक्ष समेत पक्राउ परेका छन् । चोरीको खसी खरिद बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटना थप अनुसन्धानको विषय बनेको हो ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ का २० वर्षीय मुकेशकुमार राम, १७ वर्षीय रुपेशकुमार राम, चोरीको खसी खरिद गरेको आरोपमा १८ वर्षीय समीर मन्सुरी र उनका साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ रहेका छन् ।
प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको खसी बुधबार राति चोरी गरेका थिए । चोरी गरिएको खसी उनीहरूले समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
खसी चोरी भएको थाहा पाएपछि पीडित सफ्रुलाले खोजी गर्ने क्रममा मुकेश र रुपेशलाई फेला पारेका थिए । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाइएको थियो ।
पक्राउ परेका आरोपितसँग सोधपुछ गर्ने क्रममा चोरीको खसी खरिद गर्ने पक्षको समेत संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको टोलीले समीर र दिनेशलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चोर पक्राउ परेपछि ‘मिलाउने’ प्रयास
चार जना पक्राउ परेपछि अनुसन्धान अघि बढिरहेका बेला केही बिचौलिया सक्रिय भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार बिचौलियाले चारै जनालाई एकमुष्ट १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर गाउँमै मिलापत्र गराउने प्रयास गरेका थिए ।
तर, वरिष्ठ सई साहले चोरीजस्तो आपराधिक घटनालाई जरिवाना र मिलापत्रमा सीमित गर्न नमानेको बताइएको छ । साहको अडानपछि चारै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि शनिबार इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
‘चोरीको घटना मिलापत्र गरेर आरोपीलाई छाड्दा गलत सन्देश जान्छ । दोषीमाथि कानुनी कारबाही हुनुपर्छ’ भन्ने अडान सहित साहले आरोपितलाई माथिल्लो निकायमा पठाएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । उनका अनुसार शनिबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएको थिएन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चोरीभन्दा ठूलो समस्या ‘खरिद गर्ने बजार’ ?
कटहरिया र आसपासका क्षेत्रमा खसी बोका चोरीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ । चोरी भएका सामान सहजै बिक्री हुने वातावरणले चोरी गर्नेहरूलाई प्रोत्साहन मिलिरहेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार यस्ता घटनामा चोरी गर्ने व्यक्ति मात्र नभई चोरीको सामान खरिद गर्ने, बिक्रीमा सहयोग गर्ने तथा घटनालाई गाउँमै मिलापत्र गराउन खोज्ने व्यक्तिहरूको भूमिकामाथि समेत निष्पक्ष अनुसन्धान आवश्यक छ ।
चोरीको सामान खरिद गर्ने पक्षलाई समेत कानुनी दायरामा नल्याएसम्म चोरीका घटना नियन्त्रण गर्न कठिन हुने उनीहरू बताउँछन् । त्यसैगरी, घटना सार्वजनिक भएपछि आर्थिक जरिवाना वा गाउँमै मिलापत्र गरेर कानुनी प्रक्रिया टार्ने प्रवृत्तिले अपराध नियन्त्रणमा थप चुनौती सिर्जना गर्ने स्थानीयको बुझाइ छ ।
कटहरियाको यो घटनाले एउटा खसी चोरीको विषय मात्रै नभई चोरीको सामान खरिद बिक्री हुने सम्भावित सञ्जाल र यस्ता घटनालाई गाउँमै मिलाउने प्रवृत्तिमाथि समेत प्रश्न उठाएको छ । स्थानीयले चोरी तथा चोरीको सामान खरिद बिक्रीमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।




