पर्सा । वीरगञ्ज महानगरपालिका १४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा जुवा खेल्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका ६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका ११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका ७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना कर्मचारीसमेत पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज २५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका ५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज १२ का ५० वर्षीय प्रदेशी साह रहेका छन् ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।




