सर्लाही । शनिबारको दिन । सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ र ७ मा फैलिएको नाढीमन ताल परिसरमा विस्तारै मानिसहरूको चहलपहल बढ्दै थियो । कोही परिवारसहित ताल घुम्न आएका थिए, कोही पार्कमा बालबालिकालाई खेलाउँदै थिए भने केही पर्यटक तालको किनारमा बसेर पानीको दृश्य नियालिरहेका थिए ।
लामो समय सुनसानजस्तै बनेको नाढीमन तालमा फेरि मानिसहरूको आवागमन बढ्न थालेपछि आसपासका व्यापारीमा पनि आशा पलाएको छ । कुनै समय पर्यटकको भीडले भरिने यो क्षेत्र पछिल्लो समय संरक्षण र व्यवस्थापनको अभावमा ओझेलमा परेको थियो । अहिले भने तालमा पानी भरिएसँगै पर्यटकीय गतिविधि पनि बिस्तारै फर्किन थालेको छ ।
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको नाढीमन ताललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही वर्षअघि देशका १०० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत गरेको थियो । तर, पर्यटकीय गन्तव्यको सूचीमा परे पनि त्यसअनुसार संरक्षण, पूर्वाधार र प्रचारप्रसार हुन नसक्दा तालले लामो समय आफ्नो पुरानो रौनक गुमायो ।
५२ बिघाको ताल, पानीमा सीमित हुँदै क्षेत्रफल
स्थानीयका अनुसार करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल चारैतिरबाट अतिक्रमणको चपेटामा परेको छ । अहिले करिब ३५ बिघा क्षेत्रफलमा मात्र पानी रहेको बताइन्छ । तालको दक्षिण–पश्चिमतर्फ मिथिला कलाघर र ‘चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ । ताल परिसरमा साबिक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला तथा गाउँपालिकाको प्रशासनिक भवन समेत रहेका छन् ।
ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले चारैतिर सडकसहितको ड्याम निर्माण तथा वृक्षरोपणका कार्यक्रम अघि बढाइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो बताउँछन् । तर, तालको सौन्दर्य बढाउने प्रयाससँगै संरक्षण र व्यवस्थापनको दीर्घकालीन योजना कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।
सेनाको पहलपछि फर्किएको थियो रौनक
नाढीमन तालले यसअघि पनि आफ्नो रूप फेरेको थियो । विक्रम संवत् २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसरमा सरसफाइ, वृक्षरोपण तथा मानिसहरू बस्नका लागि बेन्च निर्माणलगायतका काम गरेको थियो ।
जलकुम्भीले ढाकिएर कुरूप बनेको ताल त्यसपछि केही समयमै आकर्षक देखिन थालेको थियो । ताल सफा र सुन्दर बनेपछि यसको चर्चा स्थानीयस्तरमा मात्र सीमित रहेन । पर्यटकहरू आउन थाले । मानिसहरूको चहलपहल बढेसँगै स्थानीय व्यापारीले पनि अवसर देखे । केहीले ठूलो लगानी गरेर पसल तथा होटल सञ्चालन गरे ।
तर त्यो रौनक धेरै समय टिक्न सकेन । ताल संरक्षण र व्यवस्थापनमा फेरि बेवास्ता हुन थालेपछि पर्यटक घट्दै गए । तालको छेउमा लाग्ने हाटबजार सुक्यो । पर्यटकलाई लक्षित गरेर खोलिएका पसल र होटल क्रमश: बन्द हुँदै गए ।
कहिले फेरि चहलपहल फर्केला भन्ने आशामा बसेका व्यापारीका लागि अहिलेको पर्यटक आगमन भने नयाँ उत्साह बनेको छ । स्थानीय व्यापारी लक्ष्मी सिंहका अनुसार ताल सुन्दर बन्दै गएपछि पर्यटकको संख्या पनि विस्तारै बढिरहेको छ ।
“तालमा मानिसहरू आउन थालेका छन् । भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट समेत पर्यटक आउने गरेका छन्,” उनी भन्छन्, “यसले यहाँका व्यापारीमा फेरि आशा जगाएको छ ।”
एकपटक सुकाइएको ताल फेरि भरिभराउ
नाढीमन तालको यात्रा भने सधैँ सहज रहेन । वि.सं. २०८१ मा माछा निकाल्ने क्रममा ठेकेदारले ताल सुकाएपछि ठूलो क्षेत्र गौचरनमा परिणत भएको थियो । त्यसपछि विस्तारै पानी जम्मा हुँदै अहिले ताल फेरि भरिभराउ बनेको छ ।
रोचक पक्ष के छ भने तालमा पानी आउने कुनै ठूलो बाहिरी स्रोत छैन । जमिनमुनिबाट नियमित रूपमा निस्कने जरुवा पानीकै कारण ताल वर्षभरि भरिभराउ रहने गरेको गाउँपालिका अध्यक्ष महतो बताउँछन् ।
पानीले भरिएको ताल र वरिपरिका संरचनाले अहिले नाढीमनलाई फेरि आकर्षक बनाएको छ । तर, यही आकर्षणलाई दीर्घकालीन पर्यटनमा बदल्न भने संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयको बुझाइ छ ।
‘सुनेकोभन्दा सुन्दर रहेछ’, तर फोहोरले निराश
शनिबार छोरा घुमाउन ताल पुगेका बरहथवा नगरपालिका ५ का बुद्धबहादुर थिङलाई नाढीमन ताल आफूले सुनेभन्दा सुन्दर लाग्यो । तर, प्रचारप्रसारको अभावका कारण अझै धेरै मानिस यस गन्तव्यबारे अनभिज्ञ रहेको उनको भनाइ छ ।
“एक पटक घुम्न आएका पर्यटकले अरूलाई पनि आउन प्रोत्साहन गर्ने माहोल हुनुपर्छ,” उनले भने, “त्यसपछि कसैले केही गर्नु पर्दैन ।” उनका अनुसार निर्माणाधीन अवस्थामा रहेका संरचनाको आसपास फोहोर देखिनु पर्यटकका लागि निराशाजनक पक्ष हो । प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
बोट चढ्ने रहर, तर मोटरबोट नियमित छैन
नाढीमन तालको अर्को आकर्षण हो- मोटरबोटबाट ताल शयर । तर पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको बोट सेवा नियमित हुन सकेको छैन । सदरमुकाम मलङ्गवाबाट ताल घुम्न आएका दिनेश महतो आफू पटक–पटक बोट चढ्नकै लागि आए पनि सफल हुन नसकेको बताउँछन् ।
“कहिले बोट बिग्रिएको छ भन्छन्, अहिले ठेकेदारले चलाउन दिएको छैन रे,” उनले गुनासो गरे । उनका अनुसार पर्यटकलाई आकर्षित गर्न सुन्दर ताल मात्र पर्याप्त छैन । त्यससँगै नियमित मनोरञ्जन, सरसफाइ र आवश्यक पूर्वाधार पनि चाहिन्छ । ताल परिसरमा निर्माण गरिएका बालबालिकाका खेल संरचना जीर्ण अवस्थामा रहेको र केही संरचना जोखिमपूर्ण देखिएको उनको भनाइ छ ।
सात करोडभन्दा बढीको पूर्वाधार निर्माण
पर्यटनको सम्भावना बोकेको नाढीमन ताल परिसरलाई व्यवस्थित बनाउन गाउँपालिकाले पूर्वाधार निर्माणको काम पनि अघि बढाएको छ । गाउँपालिकाले पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालयलगायत संरचना निर्माणका लागि वि.सं. २०८१ असार २१ गते सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेको थियो ।
३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बागमती, सर्लाहीस्थित एस एन्ड एस/काल्सा जेभीले निर्माणको जिम्मेवारी पाएको हो । स्थानीय राम स्वगारथ रायका अनुसार नाढीमन तालको मौलिक स्वरूप कायम राख्दै पुनर्निर्माण र सौन्दर्यीकरण गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्न सक्छ ।
माछापालन र पर्यटनबीचको द्वन्द्व
तालको व्यवस्थापनमा देखिएको अर्को चुनौती हो- माछापालन र पर्यटन गतिविधिबीचको समन्वय । गाउँपालिकाले आन्तरिक आम्दानी बढाउने उद्देश्यले ताल माछापालनका लागि ठेक्कामा दिएको छ । यही कारण मोटरबोट सञ्चालनमा समस्या भएको बोट व्यवस्थापनमा संलग्न कर्मचारी धनिराम सहनी बताउँछन् ।
उनका अनुसार मोटरबोट चलाउँदा माछा मर्ने भन्दै सम्झौताअनुसार ठेकेदारले तालमा बोट सञ्चालन गर्न रोक लगाएको छ । यसले नाढीमन तालको भविष्यमा एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ- ताललाई माछापालनका लागि प्रयोग गर्ने कि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, अथवा दुवै गतिविधिलाई सन्तुलित ढंगले अघि बढाउने ?
दुर्गन्धले फेरि नबिगारोस् पर्यटकको मन
पर्यटकको संख्या बढ्दै गएको समयमा तालमा मरेका माछा र फोहोरका कारण दुर्गन्ध फैलिन थालेको गुनासो पनि सुनिन थालेको छ । स्थानीय बिनिता महतोका अनुसार मरेका माछाबाट आउने दुर्गन्धका कारण तालको किनारमा उभिनसमेत कठिन हुने अवस्था छ ।
“अहिले नै ध्यान नदिए विगतमा जस्तै पर्यटक घट्न सक्छन्,” उनी भन्छिन् । नाढीमन तालमा अहिले पानी छ, मानिसहरू आउन थालेका छन् र व्यापारीमा आशा जागेको छ । तर यो रौनकलाई दिगो बनाउन सरसफाइ, नियमित बोट सेवा, सुरक्षित पार्क, पूर्वाधारको उचित प्रयोग, प्रचारप्रसार र ताल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको जोड छ ।
अवसर पनि, परीक्षा पनि
नाढीमन ताल अहिले फेरि एउटा मोडमा उभिएको छ । एकातिर प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक महत्व र भारतको बिहारदेखि आउने पर्यटकको सम्भावनाले यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सक्ने आधार दिएको छ । अर्कोतिर विगतको बेवास्ता, अतिक्रमण, कमजोर व्यवस्थापन, फोहोर तथा माछापालन र पर्यटनबीचको विवादले चुनौती पनि देखाएको छ ।
तालमा फेरि पानी भरिएको छ । पर्यटक पनि फर्किन थालेका छन् । व्यापारीमा पनि उत्साह पलाएको छ । अबको चुनौती भनेको फेरि आएको यो चहलपहललाई क्षणिक नबनाई नाढीमन तालको दिगो पर्यटकीय भविष्य निर्माण गर्नु हो ।
यदि संरक्षण, पूर्वाधार र व्यवस्थापनलाई एउटै योजनामा जोड्न सकियो भने नाढीमन ताल सर्लाहीको मात्र होइन, मधेसकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेर उभिएको छ ।




