काठमाडौं । बारामा प्रहरीले १३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पचरौता नगरपालिका ७ स्थित बैनीली चोकनजिकैबाट उक्त गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार भदौ २० गते राति करिब साढे १० बजे गस्तीमा खटिएको प्रहरी टोलीले बैनीली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ धानखेतको आलीबाट झोलाजस्तो वस्तु बोकेर आउँदै गरेका नौ जनालाई देखेको थियो ।
प्रहरी टोलीले उनीहरूलाई रोक्न खोज्दा ती व्यक्तिहरूले बोकेका पोका धानखेतमै फालेर फरार भएका थिए । त्यसपछि प्रहरीले खेतमा फालिएका पोका नियन्त्रणमा लिएर जाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नौवटा पोकामा रहेको गाँजाको कुल तौल बोरा तथा प्याकिङसहित १५५ किलो र बोरा हटाएर तौल गर्दा १३९ किलो रहेको प्रहरीले जनाएको छ । गाँजा फालेर फरार भएका नौ जनाको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




