रौतहट । रौतहटको परोहा नगरपालिका ३ तेजापाकडमा करेत सर्पको डसाइबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय अनिरुद महतोकी छोरी बिउटी कुमारी कुशवाहालाई शनिबार राति करिब ८:३० बजे घरभित्र खेलिरहेका बेला करेत सर्पले दाहिने हातको औँलामा डसेको थियो ।
सर्पले डसेपछि बालिकाको अवस्था गम्भीर बनेको थियो । परिवारले तत्काल उपचारका लागि उनलाई प्रादेशिक अस्पताल गौर पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरिएको थियो ।
नारायणी अस्पतालमा चिकित्सकहरूले स्वास्थ्य परीक्षणसँगै ईसीजी गरेपछि आइतबार बिहान करिब १:१५ बजे बालिकाको मृत्यु भइसकेको पुष्टि गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लौकाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
बालिकाका बुवा अनिरुद महतोले शवको पोस्टमार्टम नगर्ने बताएपछि प्रहरीले शव परिवारको जिम्मा लगाएको जनाएको छ ।




