पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ पत्थरकलाबाट प्रहरीले भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि राखिएको ८०१ थान सालिग्राम बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार सोमबार नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भित्री सडकमा भारततर्फ अवैध रूपमा लैजानका लागि बेवारिसे अवस्थामा राखिएको सालिग्राम प्रहरीले बरामद गरेको हो ।
बरामद सालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सालिग्राम आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर, नवलपरासी पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।




