सर्लाही । उखु खेतमा हुर्काउँदा सर्लाहीका किसानलाई आशा हुन्छ- कटानीपछि उद्योगलाई बेचेको उखुको पैसा हात पर्छ, ऋण तिरिन्छ, खेतीको खर्च धानिन्छ र घरपरिवारका आवश्यकता पूरा हुन्छन् । तर यही आशा अहिले धेरै किसानका लागि चिन्तामा बदलिएको छ ।
गत याममा उद्योगलाई उखु बुझाएको छ महिना बितिसक्दा पनि भुक्तानी नपाउँदा किसानहरू दैनिक खर्चदेखि ऋणको ब्याजसम्मको बोझमा परेका छन् । धन्कौल गाउँपालिका २ मा रहेको अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको ठूलो रकम अझै भुक्तानी गर्न बाँकी छ ।
उद्योगले समयमै पैसा नदिँदा उखु खेतीबाटै घर चलाउँदै आएका किसान अहिले अर्को ऋण खोजेर गुजारा गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
उखुको पैसा नआएपछि ब्याजको बोझ
धन्कौल गाउँपालिका ३ का कैलाश पासवानले गत याममा उद्योगलाई ३०० क्विन्टल उखु बिक्री गरे । त्यसको अधिकांश रकम अझै पाएका छैनन् । कैलाशले ५० कट्ठा जमिनमा उखु खेती गरेका छन् । त्यसमध्ये २० कट्ठा आफ्नै हो भने बाँकी जमिन ठेक्कामा लिएका हुन् ।
खेतीका लागि लागेको खर्च, ठेक्का रकम र घरायसी आवश्यकता सबै उखु बिक्रीबाट आएको पैसाले धान्ने उनको योजना थियो । तर उद्योगबाट भुक्तानी नआएपछि योजना उल्टिएको छ ।
“घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्याउनुपर्छ,” कैलाश भन्छन्, “बालबच्चाको लालनपालन, शिक्षादीक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ । तर उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ ।”
केही समयअघि मात्र छोरीको विवाह गरेका कैलाशलाई त्यसबेला पनि रकमको आवश्यकता थियो । उद्योगबाट पैसा नआएपछि उनले साहुमहाजनसँग सयकडा तीन रुपैयाँ ब्याजमा ऋण लिनुपरेको बताए ।
अहिले पनि उद्योगबाट उनले ५६ हजार रुपैयाँभन्दा बढी पाउन बाँकी छ । भुक्तानीको टुंगो नलागेपछि कैलाश उखु खेतीप्रति नै निराश हुन थालेका छन् । उद्योगले पैसा दिने समयमा किसानले भोग्नुपर्ने सास्ती सम्झेरै यसपटक उनले करिब ४०० क्विन्टल उखु नगदमा बिक्री गरेको बताए ।
तर नगद कारोबारमा पनि किसानले अर्को घाटा व्यहोर्नुपर्छ । बिचौलियाले उद्योगले दिने मूल्यभन्दा प्रतिक्विन्टल ३५ देखि ४० रुपैयाँ कममा उखु खरिद गरेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्ने गरेको किसानको भनाइ छ ।
यसरी किसानले उखुको मूल्यमा मात्र होइन, सरकारले दिने अनुदानबाट समेत वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् ।
२०७४ को पैसा अझै आएन
धन्कौल २ का पाँचु सहनीका लागि अन्नपूर्ण चिनी उद्योगसँगको भुक्तानी विवाद नयाँ होइन । उनले २०७४ सालमै उद्योगलाई बिक्री गरेको उखुको केही रकम अहिलेसम्म पाएका छैनन् ।
उद्योग आर्थिक रूपमा संकटमा परेपछि तत्कालीन सञ्चालकले उद्योग बिक्री गरेको र त्यसपछि किसानको भुक्तानी झन् अन्योलमा परेको उनको भनाइ छ । “माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भनियो । पछि विवरण फेला परेन भनेर दिँदै दिएनन्,” सहनीले भने ।
त्यसपछि उनले सर्लाहीकै हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग र रौतहटका उद्योगमा उखु बिक्री गर्न थाले । तर यस वर्ष मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति भएपछि बाहिरका उद्योग आएनन् । त्यसपछि आफूहरूले इच्छा नहुँदानहुँदै अन्नपूर्ण चिनी उद्योगमै उखु बिक्री गर्नुपरेको सहनीले बताए ।
यसपटक उनले बिक्री गरेको करिब ५०० क्विन्टल उखुको रकमसमेत बाँकी छ । हरिवनस्थित उद्योगले उखु बिक्री गरेको करिब १५ दिनमै भुक्तानी दिने गरेको उदाहरण दिँदै उनले अन्नपूर्णले किसानलाई अनावश्यक दु:ख दिएको गुनासो गरे ।
६१ करोडको उखु, २२ करोड बाँकी
अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा ३ हजार १८६ किसानबाट ९ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु खरिद गरी क्रसिङ गरेको थियो । उद्योगले किसानलाई तिर्नुपर्ने कुल रकम ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँ रहेकोमा अझै करिब २२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको देखिएको छ ।
किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले समेत उद्योगबाट करिब २२ करोड रुपैयाँ किसानले पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर उद्योग प्रशासन भने भुक्तानी प्रक्रिया अघि बढिरहेको दाबी गर्छ ।
उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको रकम बाँकी रहेको स्वीकार गर्दै कात्तिक मसान्तसम्म सबै भुक्तानी सक्ने योजना रहेको बताए । उनका अनुसार दसैँअघि नै किसानको धेरैजसो रकम भुक्तानी गर्नेगरी काम भइरहेको छ । यद्यपि अहिलेसम्म कति रकम किसानको खातामा जम्मा भइसकेको छ भन्ने यकिन तथ्याङ्क भने आफूहरूसँग नरहेको उनले बताए ।
मालिक पक्राउदेखि रिहाइसम्म
किसानको भुक्तानी रोकिएको विषयमा उद्योग सञ्चालक शैलेन्द्र गुप्ता पक्राउसमेत परेका थिए । जिल्ला अदालत सर्लाहीबाट जारी पक्राउ पुर्जीका आधारमा पक्राउ परेका गुप्तालाई उद्योगमा मौज्दात रहेको करिब ११ करोड रुपैयाँ बराबरको चिनी बिक्री गर्ने र अपुग रकम बैंकबाट ऋण लिएर किसानको खातामा दसैँसम्म जम्मा गर्ने शर्तमा रिहा गरिएको थियो ।
उद्योगमा बिक्री हुन बाँकी चिनी बिक्री गरेर अपुग रकम बैंकबाट ऋण लिई किसानको पैसा तिर्ने उद्योगीले प्रतिबद्धता जनाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायले बताए । त्यही प्रतिबद्धताका आधारमा आफूहरूले सहजीकरण गरेको रायको भनाइ छ । तर किसानहरू प्रतिबद्धता कार्यान्वयन हुनेमा विश्वस्त छैनन् ।
‘चाडबाडमा पैसा आउँछ भन्ने विश्वास छैन’
उद्योगले अहिलेसम्म उल्लेख्य रूपमा भुक्तानी नगरेको भन्दै स्थानीय किसानहरू चाडबाडको मुखमा समेत पैसा पाउनेमा आशावादी हुन सकेका छैनन् । उनीहरूको समस्या केवल उखुको रकममा सीमित छैन ।
भुक्तानी रोकिँदा अर्को यामको खेतीका लागि मलखाद किन्न, मजदुरलाई ज्याला दिन, ठेक्काको रकम बुझाउन र घर खर्च चलाउन समेत कठिन भएको किसानहरूको भनाइ छ ।
किसानहरूका लागि उखु नगदे बाली हो । खेतमा महिनौँसम्म पसिना बगाएर उत्पादन गरेको उखु उद्योगमा पुगेपछि त्यसको मूल्य हातमा आउनुपर्ने हो । तर मूल्य नआएपछि किसानले आफ्नो उत्पादन बेचेर पनि पैसा खोज्नुपर्ने विडम्बना छ ।
किसान धीरु बर्माका अनुसार आफूले उत्पादन गरेको फसलको पैसा नपाउँदा बिरामी पर्दासमेत उपचार खर्च जुटाउन ऋण खोज्नुपर्ने अवस्था आएको छ । सर्लाहीको बागमती नगरपालिका ११ का नप्लकण्ठ देवकोटाको प्रश्न अझ गम्भीर छ- किसानलाई नै संकटमा पारेर देशको विकास कसरी सम्भव हुन्छ ?
किसानको माग : फसलको बजार र पैसाको सुनिश्चितता
किसानहरूको माग उद्योगले उखु खरिद गरिदियोस् भन्ने मात्र होइन । उनीहरू आफ्नो उत्पादनको बजार, उचित मूल्य र समयमै भुक्तानीको स्थायी सुनिश्चितता चाहन्छन् । उखु बिक्री गरेको छ महिनाभन्दा बढी समयसम्म पैसा नपाउँदा खेती प्रणाली नै प्रभावित हुन थालेको उनीहरूको भनाइ छ ।
एकातिर उत्पादनको लागत बढिरहेको छ, अर्कोतिर बिक्रीपछि पनि महिनौँसम्म पैसा नआउने हो भने किसानले खेती कसरी धान्ने भन्ने प्रश्न उनीहरू उठाउँछन् । सरकारले किसानको उत्पादन खरिद गर्ने उद्योगको वित्तीय अवस्था, भुक्तानी क्षमता र किसानसँगको दायित्वबारे समयमै निगरानी गर्नुपर्ने उनीहरूको माग छ ।
किनकि उखु खेतबाट काटेर उद्योगको गेटमा पुर्याएपछि किसानको जिम्मेवारी सकिएजस्तो देखिए पनि वास्तविक जोखिम त्यहीँबाट सुरु भइरहेको छ । किसानले आफ्नो श्रम, जमिन र लगानी लगाएर उखु उत्पादन गर्छ । उद्योगले उखु लिएर चिनी उत्पादन गर्छ ।
तर उत्पादनको मूल्य पाउन किसानले महिनौँ कुर्नुपर्ने अवस्था दोहोरिरहँदा प्रश्न उठ्छ-उखु किसानका लागि नगदे बाली हो कि वर्षौँसम्म पैसा कुर्नुपर्ने ऋणको चक्र ? सर्लाहीका किसानको अहिलेको पीडा यही प्रश्नको उत्तर खोजिरहेको छ ।




