सिरहा । सिरहाको औरही गाउँपालिका ४ इट्टाटार सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीलाई देखेपछि टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरू सामान त्यहीं छाडेर फरार भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन् ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।




