वीरगञ्ज । लागूऔषध ब्राउन सुगर खरिद, बिक्री तथा ओसार पसारमा संलग्न एक भारतीय युवक वीरगञ्जबाट पक्राउ परेका छन् । कार र ब्राउन सुगरसहित ३१ वर्षीय युवक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले वीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोकमा जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको कारलाई रोकी चेकजाँच गर्दा ब्राउन सुगरसहित युवकलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लका अनुसार डीएल १२ सीएल १९८४ नम्बरको भारतीय कारको चालक बस्ने सिटको माथिल्लो भागमा लुकाइछिपाई राखिएको प्लास्टिकभित्र ७ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो ।
प्रहरीले भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल, पुरैनीया लोहडिया ५ बस्ने ३१ वर्षीय दिनेश प्रसादलाई पक्राउ गरेको जनाएको छ । कार र ब्राउन सुगरसहित पक्राउ परेका प्रसादलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।




