सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार तथा भर्नाका लागि पुगेकी एक विपन्न महिलाले अस्पताल अगाडिकै सडकको फुटपाथमा बच्चा जन्माएकी छन् ।
राजविराज नगरपालिका १४ परासी टोलकी हरेराम पासवानकी श्रीमती मंगलबार राति सुत्केरी व्यथाका साथ अस्पताल पुगेकी थिइन् । अस्पतालमा भर्ना भएपनि आवश्यक परीक्षणका लागि पैसा अभाव भएपछि उनले समयमै प्रसूति सेवा नपाएको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार सुत्केरीका लागि अस्पताल पुगेकी महिलाका अभिभावकलाई अस्पतालका कर्मचारीले प्याथोलोजी परीक्षण गराएर आउन भनेका थिए । त्यसपछि अभिभावकले आफूहरूसँग परीक्षण गराउने पैसा नभएको बताएपछि परीक्षण नगरी सुत्केरी गराउन नसकिने जवाफ दिइएको उनीहरूको दाबी छ ।
त्यसपछि प्रसव पीडामा रहेकी महिलालाई अभिभावकले अस्पतालबाट बाहिर ल्याएका थिए । घरसम्म पुग्ने अवस्था नरहेपछि उनी अस्पताल परिसर आसपासमै छटपटाइरहेकी थिइन् । अन्तत: राति करिब साढे २ बजे उनले अस्पतालको मूल गेटअगाडि सडकको फुटपाथमै बच्चा जन्माएकी हुन् ।
घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ती महिला अस्पतालको मूल गेटअगाडि प्रसव पीडामा छटपटाइरहेको र त्यहीँ बच्चा जन्माइरहेको देखिन्छ । वरपर मानिसहरूको भीड समेत देखिन्छ ।
अस्पतालको भनाइ : परीक्षण गराएर आउँछु भन्दै गएकी हुन्
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने महिलालाई अस्पतालमा भर्ना हुन नदिएको भन्ने आरोप अस्वीकार गरेका छन् । उनका अनुसार ती महिला सुत्केरी हुन अस्पताल आएकी थिइन् र ड्युटीमा रहेका कर्मचारीले प्रक्रियाअनुसार प्याथोलोजी परीक्षण गराउन भनेका थिए ।
‘अस्पतालमा ती महिला सुत्केरीका लागि भर्ना हुन आएकी थिइन् । ड्युटीमा रहेका कर्मचारीले प्रक्रियागत रूपमा प्याथोलोजी टेस्ट गराएर आउन भनेपछि टेस्ट गराएर आउँछु भनेर बिलिङ काउन्टरसम्म पनि नपुगी उहाँ त्यहाँबाट जानुभएको हो,’ झाले भने, ‘पछि अस्पताल अगाडिको सडकको फुटपाथमा बच्चा जन्मिएको भन्ने जानकारी भयो ।’
झाका अनुसार प्याथोलोजी परीक्षणका लागि लाग्ने शुल्क सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने हुन्छ । अस्पतालमा दैनिक धेरै बिरामी आउने भएकाले कर्मचारीले तोकिएको प्रक्रियाभन्दा बाहिर गएर काम गर्न नसक्ने उनको भनाइ छ ।
घटनाले उठायो सरकारी स्वास्थ्य सेवामाथि प्रश्न
सरकारी अस्पताल विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख माध्यमका रूपमा हेरिन्छ ।
तर प्रसव पीडामा रहेकी महिलाले अस्पताल अगाडिकै फुटपाथमा बच्चा जन्माएको घटनाले सरकारी स्वास्थ्य सेवाको पहुँच, आकस्मिक प्रसूति सेवा र अस्पतालको सेवा प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
यद्यपि, महिलाले पैसा अभावकै कारण अस्पतालमा आवश्यक उपचार तथा प्रसूति सेवा नपाएको हो वा अन्य प्रक्रियागत कारणले अस्पतालबाट बाहिरिएको हो भन्ने विषयमा थप तथ्य आवश्यक देखिन्छ ।
घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अस्पताल प्रशासनको व्यापक आलोचना भइरहेको छ । स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरूले प्रसव पीडामा रहेकी महिलालाई अस्पतालमा तत्काल उपचार तथा सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने विषयमा कुनै लापरबाही भएको भए सम्बन्धित पक्षलाई जिम्मेवार बनाउनुपर्ने माग समेत गरेका छन् ।
घटनाले आर्थिक रूपमा विपन्न गर्भवती तथा सुत्केरी महिलाले आकस्मिक अवस्थामा सहज र सुरक्षित स्वास्थ्य सेवा पाउने सरकारी व्यवस्थाको प्रभावकारितामाथि समेत बहस सिर्जना गरेको छ ।




