पर्सा । पर्साका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका ३ कटैयास्थित २८ वर्षीय जाबैद अंसारीको घरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ८ सय मिलिग्रामसहित उनीसहित तीन जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले जाबैदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी, वीरगञ्ज महानगरपालिका १६ लिंक रोडस्थित होटल अमन प्यालेसबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० ग्राम ३० मिलिग्राम, नगद ३२ हजार १ सय नेपाली रुपैयाँ र ४ हजार २ सय भारतीय रुपैयाँसहित भारत मोतिहारी रक्सौल १३ का ३५ वर्षीय बिशाल कुमार कुशवाहा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सासहितबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर २०५ तलासी गर्दा उक्त पदार्थ तथा रकम फेला पारेपछि कुशवाहालाई बुधबार बेलुकी पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
त्यस्तै, वीरगञ्ज महानगरपालिका १६ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका ९ रामपुर टोलका २२ वर्षीय निरज ठाकुर लोहार र कलैया ६ मदर्सा टोलका २८ वर्षीय अनिल गिरी रहेका छन् ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ४७ प ९६७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी, पटेर्वा सुगौली गाउँपालिका ४ भथौराका ७० वर्षीय दुखी महतो पनि अवैध लागूऔषध गाँजा १७ किलो ४ सय ग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारेपछि उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




