वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका २ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका २ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारु घाँस काट्न गाउँ नजिकैको राष्ट्रिय वनमा गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरेका हुन् । प्रहरीका अनुसार थारु गत बुधबार बिहान करिब १० बजे घाँस काट्न भन्दै घरबाट जंगलतर्फ गएका थिए । तर, अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले उनको खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटरभित्र जंगलमा बाघले आक्रमण गरी मारेको अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक थारुको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।




