रौतहट । रसुवा, भोटेकोशी र नुवाकोटका बाढी पीडितको सहयोगका लागि रौतहटको फतुवा विजयपुर नगरपालिका ५ सन्तपुरस्थित मुस्लिम समुदायले एक लाख ३८ हजार १२० रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।
नेपाली मुस्लिम समाज रौतहट तथा सन्तपुर (दो) मुस्लिम समुदायको समन्वयमा संकलित उक्त रकम सन्तपुर मुस्लिम टोलस्थित मस्जिद ए अबुबकर मस्जिदबाट संकलन गरिएको हो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचरसहित सम्बन्धित निकायमा पेस गरिएको समाजसेवी तथा शिक्षक आलम अन्सारीले जानकारी दिए ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिन समुदायका विभिन्न व्यक्तिहरूको सहयोगमा रकम संकलन गरिएको उनले बताए । विपद्को समयमा जात, धर्म र समुदायभन्दा माथि उठेर पीडितलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको मुस्लिम समुदायले जनाएको छ ।
बाढी पीडितका लागि रौतहटको मुस्लिम समुदायले गरेको सहयोगलाई स्थानीयस्तरमा मानवीय सदभाव र सामाजिक एकताको उदाहरणका रूपमा समेत लिइएको छ ।




