धनुषा । धनुषाको सवैला नगरपालिका ८ साविक ठिला गाउँ विकास समितिका ३८५ परिवारले नापजाँच भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ती परिवारले जग्गाधनी पुर्जा पाएसँगै आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार आवश्यक प्रक्रिया पूरा गरी नाप नक्सा सम्पन्न भएका ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
नापजाँच सम्पन्न भइसके पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि ती परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि सवैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० का ३ हजार २२६ परिवारलाई समेत जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।




