वीरगञ्ज । स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारतको मोतीहारी, पलानवा थाना १० का ५५ वर्षीय अशोक कुमार पक्राउ परेका हुन् ।
उनको साथबाट भारतीय रुपैयाँ ४ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय नोट बरामद गरेको हो ।
प्रहरीले ५०० दरका ८९१ थान, २०० दरका नोट तथा १०० दरका ४३ थान नोट बरामद गरेको जनाएको छ । पक्राउ परेका अशोक कुमारलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




