सर्लाही । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका ८ का विभिन्न बस्तीमा स्यालको आक्रमणबाट छ जना मानिस र करिब २५ वटा पशुचौपाया घाइते भएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार एउटै स्यालले चापिनी, आपडाँडा, स्कुलटोल र जिम्दार चोकमा पुगेर मानिसलाई टोकेको हो ।
आक्रमणमा अर्पना कोइराला, विमला तामाङ, प्रशान्त उप्रेती, तिलबहादुर मगर, मनबहादुर थामी र देवराम मगर घाइते भएका छन् । घाइतेमध्ये ३० वर्षीया अर्पना, ३४ वर्षीया विमला, २१ वर्षीय प्रशान्त, ६५ वर्षीय तिलबहादुर, ७१ वर्षीय मनबहादुर र ६६ वर्षीय देवराम रहेका छन् ।
घाइतेहरूको उपचार नगर अस्पताल सासापुर, नमुना अस्पताल हरिवन तथा हरिवन बजारका विभिन्न निजी स्वास्थ्य संस्थामा भइरहेको छ । केही घाइतेले हेटौँडा, वीरगन्ज र काठमाडौं पुगेर थप उपचार तथा रेबिजविरुद्धको खोप लगाएका छन् ।

लालबन्दीबाट मगाइयो रेबिजविरुद्धको खोप
एकैपटक धेरै मानिस स्यालको टोकाइमा परेपछि हरिवन नगरपालिकाले छिमेकी लालबन्दी नगरपालिकासँग समन्वय गरी रेबिजविरुद्धको खोपको व्यवस्था गरेको छ ।
हरिवन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीका अनुसार नगर अस्पतालमा तत्काल खोपको मौज्दात सकिएपछि लालबन्दीबाट खोप ल्याएर अस्पतालमा राखिएको हो ।
घाइतेलाई समयमै खोप तथा उपचार उपलब्ध गराउन स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
२५ पशुचौपाया पनि घाइते
स्यालको आक्रमणबाट मानिससँगै पशुचौपाया समेत प्रभावित भएका छन् । हरिवन नगरपालिकाको पशु स्वास्थ्य शाखाका डा. महेश श्रेष्ठका अनुसार करिब २५ वटा भैँसी र बाख्रालाई स्यालले टोकेको छ ।
घाइते पशुचौपायालाई किसानले निजी भेटेरिनरीका पशु प्राविधिक बोलाएर रेबिजविरुद्धको खोप लगाइसकेको डा. श्रेष्ठले बताए । थप खोप आवश्यक परे पशु स्वास्थ्य शाखाबाट उपलब्ध गराउने व्यवस्था गरिएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मी र पशु प्राविधिक परिचालन
घटनापछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा पशु प्राविधिक परिचालन गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ‘कमल’ले जानकारी दिए । मानिस र पशुचौपायामा स्यालको टोकाइबाट रेबिजको जोखिम हुन सक्ने भएकाले उपचार, खोप र आवश्यक स्वास्थ्य सतर्कतालाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।




