महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ११ खयरमारास्थित तिरतिरे झरनामा डुबेर १९ वर्षीय विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढीमाई नगरपालिका २ का गणेश भण्डारी रहेका छन् ।
उनी निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार शनिबार दिउँसो करिब ४:३० बजे भण्डारी सहपाठीहरूसँग घुम्नका लागि चुरेको उत्तरी क्षेत्रमा रहेको तिरतिरे झरना पुगेका थिए ।
झरनामा रमाउने क्रममा उनी डुबेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणलगायतका प्रक्रिया अघि बढाएको जनाएको छ ।
घटनास्थल बर्दिबास बजारबाट करिब २५ किलोमिटर उत्तरतर्फ पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।




