बारा । रातको अँध्यारोमा जंगल छिरेका तस्करले हरियो सालको रूख ढाले । रूखलाई गोलिया बनाएर जीपमा लोड गरे । योजना थियो- बिहान हुनुअघि नै काठ जंगलबाट बाहिर निकाल्ने । तर, जंगलको हिलोले उनीहरूको योजना बीचमै रोकिदियो ।
जीप हिलोमा फसेपछि काठ तस्करीको यो योजना वन कर्मचारीसम्म पुगेको हो । जीपसहित करिब सय क्युफिट सालका गोलिया बरामद भएपछि घटनामा संलग्न दुई जनालाई वन कर्मचारीले पक्राउ गरेका छन् ।
बाराको हलखोरिया साझेदारी वन क्षेत्रमा आइतबार बिहान भएको घटनामा परवानीपुर गाउँपालिका ३ का २५ वर्षीय जीप चालक साहेब हवारी र सोही ठाउँका ४० वर्षीय जीप साहु हुसेन मियाँ पक्राउ परेका हुन् ।
हिलोमा फसेको जीप, जंगलमै छाडेर भाग्ने प्रयास
हलखोरिया सबडिभिजन वन कार्यालय, डुमरवानाका अनुसार जीपमा १० थान सालका गोलिया लोड गरिएको थियो । करिब सय क्युफिट बराबरका ती गोलिया हरियो सालको रूख काटेर तयार पारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मधेस प्रदेश ०३–००१ च ७५१० नम्बरको जीप काठ लिएर जंगलबाट बाहिर निस्कने क्रममा हिलोमा फसेको थियो । जीप फसेपछि चालक हवारी केही समय जंगलमै लुकेका थिए । त्यसपछि उनले दुधौरा पुल आसपासको वन क्षेत्रबाट जीप साहु मियाँलाई फोन गरेर बोलाएको वन कार्यालयले जनाएको छ ।
मियाँ मोटरसाइकलमा अन्य व्यक्तिसहित घटनास्थलतर्फ पुगेका थिए । वन कर्मचारीले पहिले मियाँलाई नियन्त्रणमा लिए । त्यसको केही समयपछि चालक हवारी समेत पक्राउ परे ।
करिब ९५ इन्च मोटाइको सालको रूख काटिएको अनुमान
वन कर्मचारीका अनुसार काठका गोलिया बनाउन करिब ९५ इन्च मोटाइको हरियो सालको रूख काटिएको पाइएको छ । बरामद काठको मूल्य करिब तीन लाख रुपैयाँभन्दा बढी हुने प्रारम्भिक अनुमान गरिएको छ ।
रूख काटिएको स्थान जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गको सात किलोमिटर क्षेत्रबाट करिब सय मिटरभित्र हलखोरिया साझेदारी वनमा पर्छ ।
सूचना पाएपछि हलखोरिया सबडिभिजन वन कार्यालय, डुमरवानाका प्रमुख एवं वन अधिकृत ललन राउतको नेतृत्वमा सशस्त्र वन रक्षकको टोली घटनास्थल पुगेको थियो । टोलीले बिहान करिब ६ बजे काठसहित जीप नियन्त्रणमा लिएको हो ।
काठ रौतहटतर्फ लैजाने तयारी थियो ?
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद काठ कोल्हवी नाका हुँदै रौतहटतर्फ लैजाने तयारी गरिएको खुलेको वन कार्यालयले जनाएको छ । तर, काठ कहाँ पुर्याउने र यसमा अरू को–को संलग्न थिए भन्ने विषय भने अनुसन्धानकै क्रममा छ ।
वन कार्यालयले चालक हवारीको मोबाइल समेत नियन्त्रणमा लिएको छ । मोबाइलमा रहेका विवरण तथा अन्य प्रमाणका आधारमा काठ तस्करीमा संलग्न मुख्य व्यक्ति र सम्भावित गिरोहसम्म पुग्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।
जीप र काठ नियन्त्रणमा, अनुसन्धान व्यापक बनाइँदै
वन कर्मचारीले घटनालाई केवल जीप चालक र साहुसम्म सीमित नराखी काठ काट्नेदेखि ओसारपसार र गन्तव्यसम्मको सञ्जाल पहिचान गर्ने तयारी गरेका छन् ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजीतकुमार झाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै दोषी जोसुकै भएपनि कानुनी दायरामा ल्याइने बताएका छन् ।
हरियो सालको रूख कटान, काठको परिमाण, जीपको प्रयोग र सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान अघि बढिरहेको वन कार्यालयले जनाएको छ ।




