रौतहट । चाडपर्व नजिकिँदै गर्दा रौतहटको मौलापुर नगरपालिका प्रशासनिक संकटको चपेटामा परेको छ । प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा नगरपालिकाका दैनिक प्रशासनिक कामदेखि कर्मचारीको तलब, जनप्रतिनिधिको सुविधा, विकास निर्माणको भुक्तानी र विपन्न परिवार लक्षित कार्यक्रम समेत प्रभावित भएका छन् ।
नगरप्रमुख रिनाकुमारी साहले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरेका कारण नगरपालिका सञ्चालनमै समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर ‘सार्वजनिक अपिल’ गरेकी छन् ।
उनको दाबीअनुसार कुनै समय ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आएको नगरपालिकाको गत आर्थिक वर्षको बजेट खर्च संघीय सरकारको हस्तक्षेपका कारण ५०.६८ प्रतिशतमा सीमित भएको छ ।
तलब रोकियो, विकासका काम अलपत्र
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिले महिनौँदेखि तलब तथा सुविधा पाउन नसकेको मेयर साहले उल्लेख गरेकी छन् ।
उनका अनुसार कर्मचारीको तलब दुईदेखि आठ महिनासम्म, जनप्रतिनिधिको सुविधा चार महिनादेखि र वडा कार्यालय सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन सकेको छैन ।
प्रशासनिक काम प्रभावित हुँदा विकास निर्माणका योजना समेत समस्यामा परेका छन् । वडा नम्बर ९ स्थित सोनारनियामा निर्माण भइरहेको एकीकृत दलित बस्तीको भुक्तानी रोकिएपछि निर्माण कार्य अलपत्र परेको उनको भनाइ छ ।
नगरसभाबाट पारित निःशुल्क बिजुली–पानी कार्यक्रम पनि प्रभावित भएको छ । महसुल भुक्तानी हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले ५ हजारभन्दा बढी विपन्न उपभोक्ताको विद्युत् लाइन काट्न थालेको मेयर साहले अपिलमा उल्लेख गरेकी छन् ।
त्यस्तै, ‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत ३ सयभन्दा बढी विपन्न छोरीको विवाहका लागि उपलब्ध गराउनुपर्ने अनुदान रकमसमेत भुक्तानी हुन सकेको छैन ।
पेट्रोलदेखि इन्टरनेटसम्म उधारो रोकियो
नगरपालिकाको प्रशासनिक संकट दैनिक सञ्चालनमा समेत देखिन थालेको साहले बताएकी छन् । उनका अनुसार पेट्रोल पम्पले नगरपालिकालाई उधारोमा इन्धन दिन छाडेको छ । चिया पसलको भुक्तानी रोकिएको छ भने इन्टरनेटको लाइन समेत काटिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा फोहोरमैला व्यवस्थापन प्रभावित हुँदा नगर क्षेत्र दुर्गन्धित बन्न थालेको उनले बताएकी छन् । यसरी एउटा प्रशासनिक पद रिक्त हुँदा त्यसको असर नगरपालिकाको कार्यालयभित्र मात्र सीमित नभई विकास आयोजना, सेवा प्रवाह र नागरिकको दैनिक जीवनसम्म पुगेको मेयर साहको दाबी छ ।
‘कसलाई लालबकैयामा गाड्ने हो, सल्लाह पाउँ’
प्रधानमन्त्री बालेन्द्र शाह विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै मेयर साहले आफ्नो अपिलमा व्यंग्यात्मक शैलीमा प्रश्न समेत गरेकी छन् ।
उनले प्रधानमन्त्री शाह महानगर प्रमुख हुँदा सफाइ कर्मचारीको तलब एक साताभित्र नदिए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिएको स्मरण गराउँदै मौलापुरका कर्मचारी र जनप्रतिनिधिले लामो समयदेखि तलब तथा सुविधा नपाएको उल्लेख गरेकी छन् ।
त्यसै प्रसंगमा उनले लेखेकी छन्, ‘मेरा कर्मचारीहरूको तलब २ महिनादेखि ८ महिनासम्म, जनप्रतिनिधिहरूको सुविधा ४ महिना र वडा सञ्चालन खर्च ८ महिनादेखि भुक्तानी हुन बाँकी छ । यसका लागि कस–कसलाई लालबकैयामा गाड्नु पर्ने हो, सल्लाह पाउँ ।’
यो अभिव्यक्तिमार्फत उनले स्थानीय तहमा देखिएको प्रशासनिक संकटप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन खोजेकी छन् ।
एकपछि अर्को हाकिम आए, तर समस्या उस्तै
मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव झेलिरहेको मेयर साहको अपिलमा उल्लेख छ । उनका अनुसार असार १२ गतेदेखि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन भएपछि समस्या सुरु भएको थियो । त्यसपछि असार २२ गते मन्त्रालय पुगेर समस्या समाधानका लागि पहल गर्दा समेत सचिव र मन्त्रीले भेट्न अस्वीकार गरेको उनको दाबी छ ।
पछि साउन ४ गते नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपनि उनी भदौ ५ गतेदेखि नगरपालिकालाई कुनै जानकारी नदिई अनुपस्थित भएको र निजामती सेवाबाट अवकाश लिएको मेयर साहले बताएकी छन् । त्यसपछि नगरपालिका पुन: प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।
‘थप अस्तव्यस्त हुनबाट जोगाउन तत्काल हाकिम पठाइयोस्’
मेयर साहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा उत्पन्न समस्यालाई पाँच प्रमुख विषयमा प्रधानमन्त्रीसमक्ष राखेकी छन्- कर्मचारी तथा जनप्रतिनिधिको तलब सुविधा, विकास आयोजनाको भुक्तानी, विपन्न नागरिकका लागि नि:शुल्क बिजुली पानी, ‘छोरीसँग मेयर’ कार्यक्रमको अनुदान र नगरपालिकाको दैनिक सञ्चालन ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने अनुभव प्रधानमन्त्री शाहसँगै रहेको उनको तर्क छ । काठमाडौं महानगरपालिकाको पूर्वनगर प्रमुखका रूपमा हाकिमविहीन स्थानीय तहले भोग्ने समस्या प्रधानमन्त्रीले समेत अनुभव गरिसकेको स्मरण गराउँदै उनले तत्काल मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेकी छन् ।
अपिलको अन्त्यमा उनले भनेकी छन्, ‘हाकिमविहीनताको अवस्थाको कारण प्रधानमन्त्रीज्यू आफैँले भोगिसक्नु भएको अनुभवलाई आत्मसात् गर्दै यस नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन अविलम्ब प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सादर अनुरोध छ ।’
मौलापुरमा अहिलेको संकट एउटा कर्मचारीको पद रिक्त भएको विषयमा मात्र सीमित देखिँदैन । प्रमुख प्रशासकीय अधिकृतको अभावसँगै स्थानीय सरकारको प्रशासनिक निर्णय, आर्थिक कारोबार र सेवा प्रवाह नै प्रभावित भएको नगरप्रमुख साहको अपिलले देखाएको छ ।




