मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ महालक्ष्मी खोला नजिक ईभी माइक्रो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी माइक्रो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमध्ये धनुषाधाम नगरपालिका ४ धनुषाका सुरज भट्टराई र कावासोती नगरपालिका १ नवलपरासीका नरबहादुर ठकुरीको पहिचान खुलेको छ । मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार दुर्घटनालगत्तै प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ । घटनाको थप विवरण तथा दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




