कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तोकिए बमोजिमको थप सेवा-सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने भनेर बार्गेनिङ गरी दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मंगलबार मुद्दा दायर गर्यो ।
बमले सेवा सुविधा उपलब्ध गराउन बार्गेनिङ गरी घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य बमले आफ्नो पदीय हैसियतमा रही बदनियत पूर्ण तवरले निर्णय गरिदिने बहानामा दुई लाख रुपैयाँ घूस लिएको देखिएको अख्तियारले जनाएको छ ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको निष्कर्ष निकाल्दै अख्तियारले दुई लाख रुपैयाँ बिगो कायम गरेर कैद सजाय र जरिवानाको मागदाबी गरेको छ ।




