जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका एक नापी सर्भेक्षक (अमिन) एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार नापी सर्भेक्षक शिवकुमार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो ।
मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
उनका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।




