जनकपुरधाम । मधेश युवा सञ्जालले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका समस्याको तत्काल समाधान गर्न माग गर्दै प्रदेश सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।
सञ्जालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन तत्काल सुधारका कदम चाल्न माग गरेको हो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको घटनाप्रति सञ्जालले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
यी घटनासहित प्रदेशभर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा विकृतिको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सञ्जालले माग गरेको सञ्जालका किशन साहले बताए ।
उनका अनुसार गरिब, विपन्न, असहाय, गर्भवती, सुत्केरी तथा आकस्मिक बिरामीलाई आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नदिन प्रभावकारी व्यवस्था गर्नुपर्नेलगायत १३ बुँदे माग सञ्जालले प्रदेश सरकारसमक्ष अघि सारेको छ ।
त्यस्तै, स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डअनुसार लक्षित वर्गका लागि व्यवस्था गरिएको १० प्रतिशत नि:शुल्क शय्या तथा उपचार सेवा वास्तविक सेवाग्राहीले पाउने गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सञ्जालको माग छ ।
सञ्जालले प्रदेशभर सञ्चालित अस्पताल, क्लिनिक, नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थाको दर्ता, अनुमति, नवीकरण, पूर्वाधार, उपकरण र जनशक्तिको पुन:अनुगमन गर्नुपर्ने माग पनि गरेको छ । मापदण्ड पूरा नगरेका वा अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको माग छ ।
बिरामीमाथि हुने अनावश्यक परीक्षण, बढी शुल्क असुली, कमिसन तथा अनावश्यक औषधि र उपचारका नाममा हुने आर्थिक ठगी नियन्त्रण गर्नुपर्ने तथा सबै अस्पताल तथा स्वास्थ्य संस्थाले स्वीकृत शुल्कदर सार्वजनिक गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख छ ।




