बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ स्थित सागर आयल पेट्रोल पम्पनजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति करिब ८:३० बजे वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत पूर्वतर्फको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना ३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारका क्रममा चिकित्सकले दुवैलाई राति ९:१० बजे मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १५ नगवा निवासी करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका ७ निवासी करिब ३० वर्षीय दिलीप चौधरी रहेका छन् ।
प्रहरीका अनुसार मृतकमध्ये रविन्द्र उपाध्याय मोटरसाइकल चालक हुन् वा होइनन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । मोटरसाइकल चालकको पहिचानसम्बन्धी विवरण यकिन गर्न समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घटनास्थलमा इलाका प्रहरी कार्यालय जितपुरबाट वरिष्ठ सई उमेश निरौलाको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली र इलाका प्रहरी कार्यालय सिमराबाट इन्स्पेक्टर विनोद राज खत्रीको कमान्डमा सात जनाको टोली खटिएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न ना ३ ख ५६१० नम्बरको ट्रक र चालक चितवनको भरतपुर महानगरपालिका ७ निवासी करिब ५८ वर्षीय सुनिल राज पाठकलाई नियन्त्रणमा लिएको छ । ट्रक चालकलाई प्रहरी चौकी परवानीपुरमा राखिएको थियो ।
थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ भने मृतक दुवैको शव नारायणी अस्पताल वीरगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।




