सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १० चन्द्रपुरमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान स्थानीय ४० वर्षीय रमेश भुजेलमाथि चिर्पट प्रहार भएको हो ।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका भुजेलको लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको र हाल अचेत अवस्थामा उपचार भइरहेको बताइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय ४५ वर्षीय ध्रुव भुजेललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार घटनामा प्रयोग भएको चिर्पटसमेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार मदिरा सेवन गरी हो हल्ला गरेपछि कुटपिट भएको प्रारम्भिक जानकारी आएको छ । यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




