जनकपुरधाम । धनुषामा स्रोत खुल्न नसकेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित खौनाका ३५ वर्षीय राधाकान्त बयार रहेका छन् ।
उनलाई धनुषाको धनौजी गाउँपालिका २ स्थित गोरदाहा–देउरी भित्री सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार प्रहरी चौकी धनौजी (ख) बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको नेतृत्वमा खटिएको टोलीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बयारको कम्मरमा कपडाको पेटीभित्र रकम राखिएको फेला परेको थियो । पेटी खोलेर हेर्दा १३ लाख ६५ हजार रुपैयाँ नगद भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बरामद रकमको स्रोत खुलाउन नसकेपछि बयारलाई पक्राउ गरिएको हो ।
प्रहरीले बयारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बरामद रकमको स्रोत, रकम ओसारपसार गर्नुको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ ।




