धनुषा । हुलाकी राजमार्गको सडक सीमाभित्र बनाइएका घर टहरा तथा सडकमा राखिएका विभिन्न सामाग्री हटाउन हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले ३५ दिनको समय दिएको छ ।
कार्यालयले सूचना जारी गर्दै सडकको सीमा क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचना, निर्माण सामाग्री, मालवस्तु तथा सडक आवागमनमा बाधा पुग्ने अन्य सामाग्री हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई आग्रह गरेको हो ।
हुलाकी सडक निर्माणको काम अन्तिम चरणमा पुगेकाले सडक सीमा खाली गराउन सूचना जारी गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायले बताए ।
उनका अनुसार सडक सीमाभित्र रहेका घर टहरा र विभिन्न सामाग्रीका कारण सडक निर्माण तथा संरक्षणको काममा समस्या भइरहेको छ । यस्ता संरचना र सामाग्रीका कारण सवारी दुर्घटनाको जोखिम समेत बढेको उनले बताए ।
सडक सीमा खाली गर्न भनिएका सडकखण्डमा सिरहाको बलान–कमला सडक, धनुषाको जनकपुर–यदुकुहा र जनकपुर–कदमचोक–कप्तौल–तीनकौरिया–कमला सडक रहेका छन् ।
त्यस्तै धनुषा–महोत्तरीको जनकपुर–बसबिट्टी–भ्रमरपुरा–बलवा–सरपल्लो–भोल्ही–पोखरभिण्डा सडक, सर्लाहीको शीतलपुर–मलङ्गवा–खरैयाटोल सडक र बाँकेको संग्रामपुर सडकको सीमा क्षेत्रमा रहेका संरचना तथा सामग्री पनि हटाउन भनिएको छ ।
कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडक सीमा खाली गर्न भनेको छ । सम्बन्धित स्थानीय तहलाई समेत सूचना टाँस गर्न पत्राचार गरिएको रायले जानकारी दिए ।
तोकिएको समयभित्र संरचना तथा सामाग्री नहटाए कानुनअनुसार कारबाही अघि बढाइने कार्यालयले जनाएको छ । आवश्यक परे बल प्रयोग गरेर भएपनि सडक सीमा खाली गराइने रायले बताए ।
गत भदौ २३ गते जारी गरिएको सूचनामा सडकमा सहज आवागमन, सडक संरक्षण तथा निर्माणको काममा सहयोग पुग्ने गरी सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई आग्रह गरिएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार तोकिएको समयभित्र सडक सीमा खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी कार्यालयले दिएको छ ।




