बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेपछि स्थानीय क्षेत्रमा रातभर तनाव उत्पन्न भएको छ ।
बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका करिब ६५ वर्षीय असम्जान मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
आरोपितलाई प्रहरी चौकीमा ल्याएपछि आक्रोशित स्थानीय राति प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । उनीहरूले बालिकामाथि भएको भनिएको घटनामा दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
राति करिब ९:२० बजेपछि अवस्था थप तनावपूर्ण बनेको थियो । आक्रोशित स्थानीयले विगतमा यस्ता घटनामा कानुनी प्रक्रिया लामो हुने गरेको भन्दै तत्काल कडा कारबाही गर्नुपर्ने माग गरेका थिए । केही स्थानीयले आरोपितलाई आफ्नो जिम्मा लगाउनुपर्ने माग समेत गरेका थिए ।
तर, आरोपितलाई भीडको जिम्मा लगाउनु कानुनी प्रक्रिया विपरीत हुने भएकाले प्रहरीले उनलाई नियन्त्रणमै राखेको छ । घटनाको अनुसन्धान, पीडित बालिकाको संरक्षण तथा आवश्यक प्रमाण संकलन गरी कानुनअनुसार प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयमा बालबालिकाको सुरक्षालाई लिएर चिन्ता बढेको छ । संवेदनशील घटनामा स्थानीयको आक्रोशलाई हिंसामा परिणत हुन नदिई अनुसन्धान तथा न्यायिक प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढाउनुपर्ने देखिएको छ ।
रातिको तनावपछि इनर्वाशिरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




