काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको यातायातको महत्वपूर्ण आधारका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदी पुलको बाँकी कामले गति लिएको हो ।
पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको कामले गति लिएको जनाएको छ ।
ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । अहिले नदीमा भाँचिएको १० नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सबस्ट्रक्चरको ढलान कार्य समेत सकिएको छ ।
पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ ।
धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि माटो भरिएको भए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन: माटो भर्ने काम गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ । पुलको लोड परीक्षण समेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।
अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको छ । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । यसअघि २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो ।
सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच, मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ ।
नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्यांकन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।




