रौतहट । रौतहटको गौर भन्सार नाकाबाट स्रोत खुल्न नसकेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ७ लौकाहा निवासी २६ वर्षीय सञ्जिव पण्डित र १८ वर्षीय रितिक दास रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने दुई थान पायल, दुई थान मोबाइल फोन तथा मोटरसाइकल बरामद गरिएको छ ।
गौर भन्सार सुरक्षा गार्डबाट असई दीपककुमार यादवको कमाण्डमा खटिएको तीन सदस्यीय टोली र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले संयुक्त रूपमा चेकजाँच गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




