महोत्तरी । गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर महोत्तरीको जलेश्वरमा १५ वर्षीय बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका १० स्थित सारीको पोखरीमा शुक्रबार राति करिब ८:३० बजे मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय इन्दल यादवका १५ वर्षीय छोरा लव यादव डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पोखरीमा डुबेका लवलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो । तर अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




