सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ९ स्थित श्री महावीर माध्यमिक विद्यालयमा शिक्षकले कुटपिट गर्दा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार १५ वर्षीया अरफा खातुनलाई शिक्षक देवनारायण झाले कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते अरफालाई उपचारका लागि राजविराजस्थित अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई विराटनगर लगिएको डीएसपी घिमिरेले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको अवस्था अहिले सामान्य रहेको छ । प्रहरीले प्रारम्भिक रूपमा प्राप्त जानकारीअनुसार विद्यार्थीले पटक–पटक अटेर गरेपछि शिक्षकले दुई झापड हानेको बताएको छ ।
यद्यपि घटनाको वास्तविक अवस्था अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने डीएसपी घिमिरेले बताए ।




