जनकपुरधाम । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत महोत्तरीको जलेश्वरस्थित भिट्ठामोड नाकामा भिट्ठा थाना प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले नक्कली भारतीय तथा नेपाली रुपैयाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
संयुक्त रूपमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका व्यक्तिको साथबाट भारतीय ३१ हजार ६१० रुपैयाँ र नेपाली रुपैयाँका नक्कली नोट बरामद गरिएको जनाइएको छ । पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर निवासी इसराफिल नदाफ रहेका छन् ।
उनी रज्जाक नदाफका छोरा तथा पोस्ट अफिस कस्टम अफिस नजिक बस्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ ।
बरामद भएको जाली मुद्राको स्रोत, यसको कारोबारमा संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




