जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सेवातर्फका अधिकृत एघारौँ र नवौँ तहका (अप्राविधिक/प्राविधिक) पदको विज्ञापन तत्काल प्रकाशन नगर्ने भएको छ ।
आयोगको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार प्रदेश निजामती सेवातर्फ अधिकृत एघारौँ तहको विज्ञापन भदौ महिनाको अन्तिम बुधबार अर्थात् २०८३ भदौ २५ गते प्रकाशन हुनुपर्ने थियो ।
तर, प्रदेश सरकारअन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणसम्बन्धी कार्य सम्पन्न नभइसकेकाले निर्धारित समयमा विज्ञापन प्रकाशन गर्न नसकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश निजामती सेवा ऐन, २०७७ का प्रावधान तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्राचार र निर्णयका कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको हो ।
सम्बन्धित निकायबाट पदपूर्तिका लागि आवश्यक विवरण तथा रिक्त पदको माग प्राप्त भएपछि प्रचलित कानुन र प्रक्रिया पूरा गरी अधिकृत एघारौँ तहको विज्ञापन प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।
यसैगरी, स्थानीय सेवातर्फका अधिकृत एघारौँ र नवौँ तहका (अप्राविधिक/प्राविधिक) पदको विज्ञापन पनि तोकिएको समयमा प्रकाशन हुन सकेको छैन । स्थानीय सेवासम्बन्धी कानुनी व्यवस्था तथा आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै ती पदको विज्ञापन प्रकाशन गरिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।




