रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा आवश्यक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शनिबार साँझ विजयपुर माध्यमिक विद्यालयमा बोलाइएको नगरसभामा पर्याप्त जनप्रतिनिधि उपस्थित नभएपछि बैठक अघि बढ्न नसकेको हो ।
नगरपालिकाका अनुसार ६० सदस्यीय नगरसभामा गणपूरक संख्या पुग्न कम्तीमा ३१ जना उपस्थित हुनुपर्नेमा करिब २५ जना मात्रै सहभागी भएका थिए । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन पक्षले निलम्बित नगर प्रमुख गोपाल राय यादव निकट जनप्रतिनिधिहरू सहभागी नभएका कारण गणपूरक संख्या नपुगेको दाबी गरेको छ ।
यादव पक्षले भने नगरपालिकाको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पारदर्शी वातावरण नबनेसम्म नगरसभामा सहभागी नहुने अडान राख्दै आएको छ । यादव पक्षका जनप्रतिनिधिहरूले नगरपालिकामा अनियमितता भएको आरोप लगाउँदै छानबिनको मागसमेत गरेका छन् ।
कार्यवाहक नगर प्रमुख खातुन पक्षले भने नगरपालिकाको नियमित काम कारबाही, बजेट तथा विकास योजनालाई अघि बढाउन नगरसभा आवश्यक रहेको बताउँदै आएको छ ।
राजनीतिक विवादको असर नगरसभामा
फतुवा विजयपुर नगरपालिकामा केही समयदेखि जारी राजनीतिक तथा प्रशासनिक विवादको असर नगरसभा सञ्चालनमा समेत देखिएको छ ।
निलम्बित नगर प्रमुख यादव पक्ष र कार्यवाहक नगर प्रमुख खातुन पक्षबीचको मतभेदका कारण नगरसभा सञ्चालनका लागि आवश्यक सहमति जुट्न नसकेको हो ।
नगरसभा पटक–पटक प्रभावित हुँदा बजेट, विकास योजना तथा स्थानीय सरकारका नियमित निर्णय प्रक्रिया प्रभावित हुने जोखिम बढेको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर यादवको सर्वोच्चमा पुनरावेदन
गोपाल राय यादव २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।
लालबकैया नदीको ढुंगा, गिट्टी तथा बालुवा ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ असार २०७९ मा यादवसहितका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले उक्त प्रकरणमा नगरपालिकालाई १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी भएको दाबी गरेको थियो । विशेष अदालतले १७ असोज २०८० मा यादवलाई दोषी ठहर गरेको थियो भने सोही मुद्दाका अन्य २० जना प्रतिवादीले सफाइ पाएका थिए ।
विशेष अदालतले २५ असोज २०८० मा यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध यादवले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । यादव निकट स्रोतका अनुसार उक्त मुद्दाको पेसी सोमबार सर्वोच्च अदालतमा तोकिएको छ ।
यसैबीच, यादवले सर्वोच्च अदालतबाट सफाइ पाउने विश्वास व्यक्त गर्दै उनका पक्षधरले केही कार्यपालिका सदस्यलाई नगरसभामा सहभागी नहुन आग्रह गरेको दाबी कार्यवाहक नगर प्रमुख खातुन पक्षले गरेको छ ।
यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । यस विषयमा यादवको प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा पनि उनी उपलब्ध हुन सकेनन् । तत्कालीन नगर प्रमुख यादव निलम्बनमा परेपछि नेपाली कांग्रेसबाटै निर्वाचित उपप्रमुख अम्बेया खातुनले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
नगरपालिकाले पुन: नगरसभा बोलाउने तयारी गरे पनि दुई पक्षबीचको मतभेदका कारण आगामी बैठक सहज रूपमा सञ्चालन गर्न आवश्यक सहमति जुटाउनु चुनौतीपूर्ण देखिएको छ ।




