सप्तरी । सप्तरी प्रहरीले करिब १ हजार ४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका ६ कटैया गाउँस्थित भोला सदाको घरबाट शनिबार राति गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा राति पौने १ बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरमा खान तलासी गरेको थियो ।
खान तलासीका क्रममा ५६ वटा बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा करिब १ हजार ४ सय किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको प्रहरीले जनाएको छ ।
सीमावर्ती गाउँ भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुन सक्ने आशंका गरिएको सहप्रवक्ता थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




