पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका १ मलाही टोलमा प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार राति करिब १० बजे गाँजाको अवैध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट इन्स्पेक्टर समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि अवरोध सिर्जना गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको थियो ।
पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन् । उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय पर्सा र बारा जिल्लाका विभिन्न नाका हुँदै भारततर्फ गाँजा तस्करी बढेको प्रहरीको भनाइ छ ।




