सप्तरी । कञ्चनरूप नगरपालिका १२ ठेलियास्थित धर्मेश्वर हस्पिटल प्रालिमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले घटनाको छानबिन गर्न मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार मन्त्रालयलाई पत्र पठाउँदै दुवै महिलाको मृत्युको कारण, अस्पतालको उपचार प्रक्रियामा कुनै कमीकमजोरी भए नभएको तथा शल्यक्रियालगायत जटिल प्रकृतिका उपचार सेवा सञ्चालन गर्न अस्पतालसँग आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञ जनशक्ति भए नभएको विषयमा छानबिन गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा धर्मेश्वर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको उल्लेख छ ।
पत्रअनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का अमितकुमार चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरीलाई असोज १ गते प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पताल लगिएको थियो ।
अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । त्यसपछि थप उपचारका लागि उनलाई अर्को अस्पतालमा रेफर गरिएकोमा उपचारकै क्रममा असोज ४ गते मृत्यु भएको प्रशासनले जनाएको छ ।
त्यस्तै, सप्तकोशी नगरपालिका ११ का रामसागर खड्गाकी २८ वर्षीया श्रीमती पुष्पा खड्गालाई भदौ १६ गते प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पताल लगिएको थियो । उनको पनि अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।
प्रसूति पछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अर्को अस्पताल रेफर गरिएकोमा सोही दिन मृत्यु भएको प्रजिअ थापाले जानकारी दिए । लगातार दुई सुत्केरी महिलाको मृत्यु भएपछि धर्मेश्वर अस्पतालमा प्रसूति तथा शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भए नभएको विषयमा प्रश्न उठेको प्रशासनले जनाएको छ ।
यसैलाई ध्यानमा राख्दै प्रशासनले अस्पतालको सेवा सञ्चालन अनुमति, उपचारका लागि आवश्यक पूर्वाधार, विशेषज्ञ जनशक्ति तथा उपचार प्रक्रियालगायतका विषयमा समेत छानबिन गर्न मन्त्रालयलाई आग्रह गरेको हो ।
दुवै घटनाको आवश्यक अनुसन्धान गरी सुत्केरी महिलाको मृत्युको वास्तविक कारण पत्ता लगाउन र अस्पतालको उपचार सेवासम्बन्धी आवश्यक पक्षको अध्ययन गर्न प्रशासनले मन्त्रालयलाई अनुरोध गरेको छ ।




