परासी । पाल्हिनन्दन गाउँपालिका ५ गेर्मीमा कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हिनन्दन ५ गेर्मीका ३० वर्षीय संजय गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार भदौ २९ गते साँझ करिब पौने ७ बजे मदिरा सेवन गरेका संजय सोही स्थानका ३० वर्षीय सुनिलप्रसाद गुप्ताको घरमा पुगेका थिए । त्यहाँ सामान्य विवाद भएपछि सुनिलप्रसादले संजयलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
कुटपिटका क्रममा संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगतसमेत बगेको थियो । त्यसपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो ।
जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।
मेडिकल कलेजमा उपचाररत संजयको आज बिहान करिब साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सुनिलप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




