जनकपुरधाम । जनकपुरधाममा बैंक खाता तथा मोबाइल बैंकिङसमेत असुरक्षित बन्दै गएको घटना सार्वजनिक भएको छ । पिडारी चोकस्थित नबिल बैंकको शाखाबाट एक खाताधारीको ७० हजार १० रुपैयाँ अनधिकृत रूपमा अर्को व्यक्तिको खातामा ट्रान्सफर भएको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ८ निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको नबिल बैंकमा रहेको खाताबाट मोबाइल बैंकिङमार्फत उक्त रकम प्राइम कमर्सियल बैंक लिमिटेडमा रहेको मो. शेख फैजल जमालको खातामा ट्रान्सफर भएको बैंकले उपलब्ध गराएको विवरणबाट देखिएको छ ।
पीडित रजनीले आफ्नो जानकारी र स्वीकृतिबिनै विभिन्न मितिमा खाताबाट रकम निकासी भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही तथा रकम फिर्ता गराइदिन माग गर्दै सम्बन्धित बैंकसहित जिल्ला प्रहरी कार्यालय धनुषामा सोमबार उजुरी दिएकी छन् ।
बैंक स्टेटमेन्टअनुसार नबिल बैंकमा रजनी कर्णको नाममा रहेको खाताबाट सेप्टेम्बर २० मा प्राइम कमर्सियल बैंकमा मो. शेख फैजल जमालको नाममा रहेको खातामा ७० हजार १० रुपैयाँ ट्रान्सफर भएको देखिएको छ ।
रजनीका अनुसार आफूले कुनै कारोबार नगरे पनि खातामा रहेको रकम घटेको देखिएपछि कारोबार विवरण हेर्दा आफूले नगरेका कारोबारमार्फत रकम ट्रान्सफर भएको थाहा पाएकी थिइन् । त्यसपछि बैंकमा सम्पर्क गर्दा खाताबाट रकम अनधिकृत रूपमा ट्रान्सफर भएको जानकारी पाएपछि प्रहरीमा उजुरी दिएको उनले बताइन् ।
कर्णले दिएको निवेदनमा नबिल बैंकको पिडारी चोक शाखामा रहेको आफ्नो खाता अनधिकृत रूपमा प्रयोग गरी प्राइम कमर्सियल बैंकमार्फत रकम ट्रान्सफर गरिएको उल्लेख छ ।
उनले आफ्नो खाताबाट कुन माध्यमबाट, कहिले र कसरी रकम ट्रान्सफर भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान तथा आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेकी छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्राप्त जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार नै नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंकमा घटनाको विवरणसहित अनुसन्धानका लागि आवश्यक जानकारी उपलब्ध गराउन पत्राचार गरेको छ ।
बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको पछिल्लो घटनाले डिजिटल बैंकिङको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । धनुषामा बैंकिङ कसुर तथा ठगीसम्बन्धी घटनासमेत बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार गत भदौमा बैंकिङ कसुरका चार र ठगीका १३ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, साउनमा बैंकिङ कसुरका ११ र ठगीका १४ वटा मुद्दा दर्ता भएका थिए ।
डीएसपी खनालका अनुसार पछिल्लो समय मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफरसम्बन्धी प्रत्येक महिना एक दर्जनभन्दा बढी घटना दर्ता हुने गरेका छन् । त्यस्ता धेरै घटनाको समाधान भइसकेको र केही घटनामा अनुसन्धान जारी रहेको उनले बताए ।
उनका अनुसार अधिकांश घटनामा बैंक खाता ह्याक गर्नुभन्दा मोबाइल बैंकिङ प्रयोगमा देखिएको असावधानी प्रमुख कारणका रूपमा देखिएको छ । विभिन्न एप तथा सामाजिक सञ्जालमा आर्थिक कारोबारसँग सम्बन्धित लिंकमा क्लिक गर्ने, बैंकबाट प्राप्त ओटीपी अरूलाई उपलब्ध गराउनेलगायतका कारण यस्ता घटना हुने गरेको उनले बताए ।
‘ह्याकरले सिधै बैंक खातामा प्रवेश गरेर रकम निकासा गरेको देखिने घटना अनुसन्धानमा हालसम्म फेला परेको छैन,’ डीएसपी खनालले भने ।




