रौतहट । रौतहटमा साना बालबालिकालाई ललाई–फकाई प्रलोभनमा पारेर उनीहरूले हातमा लगाएका चाँदीका बाला निकाल्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले सर्लाहीको मलंगवा नगरपालिका ३ का ४४ वर्षीय दिनेश साहलाई दुर्गा भगवती गाउँपालिका ३ मत्सरीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान स्थानीय राजेश पण्डितका सात वर्षीय छोरा गुडु पण्डितलाई प्रलोभनमा पारी उनको हातमा रहेको चाँदीको बाला निकाल्दै गरेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह केही दिनअघि मत्सरीकै शंकर झाको घरमा भएको चोरी तथा लुटपाटको घटनामा समेत संलग्न रहेको हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
उक्त घटनाका विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै साहमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।




